ढल्दै गण्डकी प्रदेश सरकार, अबको मुख्यमन्त्री को ?
पोखरा – नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने भएको छ । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा बाहिरिएपछि गण्डकी प्रदेश सरकार ढल्ने भएको हो ।
तत्कालीन केपी ओली सरकारले गरेको प्रतिगमनका विरुद्धमा लड्न पाँचदलीय गठबन्धन बनेको भएपनि गएको आइतबार अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि जनमोर्चा गठबन्धनबाट बाहिरिएको थियो ।
जनमोर्चा नै यस्तो पार्टी हो, जसले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन प्रत्यक्ष निर्वाचित सांसदलाई पद नै नरहनेगरी कारबाही गरेको थियो ।
सरकार ढल्ने, नढल्ने वा गठबन्धनबाट बाहिरिएको तर सरकारलाई दिएको समर्थन फिर्ता लिने, नलिनेबारे चाहिँ जनमोर्चाकै आगामी केन्द्रीय समिति बैठकबाट थाहा हुने जनमोर्चाका नेता बताउँछन् ।
जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले भने, “तत्कालका लागि गठबन्धनबाट बाहिरिएको हो, सरकारलाई दिएको समर्थन फिर्ता लिएको चाहिँ होइन ।”
उनले छिट्टै पार्टीको बैठक बस्ने र थप निर्णय गर्ने जानकारी दिए । तत्कालका लागि प्रदेशको हकमा गठबन्धनबाट बाहिरिने निर्णय नभएको बरालले बताए ।
हाल गण्डकीमा जनमोर्चाका दुई सांसद छन । तर, यदि जनमोर्चाले गठबन्धनसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हकमा चाहिँ गण्डकी सरकारले बहुमत गुमाउँछ ।
जनमोर्चा संसदीय दलका नेता पियारी थापा भन्छिन्, “गठबन्धन निश्चित उद्देश्यले बनेको हो, त्यो उद्देश्य अझै पूरा भएको छैन । यथावतै छ, संसद् अवरुद्ध त्यसको प्रमाण हो । अझै पनि प्रतिगमनको खतरा उत्तिकै छ । एमसीसीले झन समस्या थपेको छ, अब निर्णय के हुन्छ यसै भन्न सकिन्न । जे पनि हुनसक्छ ।”
फागुन २३ पछि विरोधका कार्यक्रम सकिने र त्यसपछि बस्ने बैठकले आगामी कदमबारे निर्णय गर्ने उनले जानकारी दिइन् ।
तत्कालका लागि समर्थन फिर्ता नलिने तर गठबन्धनबाट अलग हुने निर्णय गरेतापनि जनमोर्चाले अब लिने निर्णयबाट के हुन्छ भन्ने चासो गठबन्धनका अन्य चार दललाई पनि उत्तिकै रहेको छ ।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ५९ जना सांसद छन । जनमोर्चाले आफ्नै सांसद कृष्ण थापालाई गठबन्धन सरकार बन्ने पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै पदमुक्त गर्ने निर्णय गरेपछि गत जेठ २८ गते थापा पदमुक्त भएका थिए ।
त्यसयता ५९ सदस्य कायम रहेको गण्डकीमा सरकार बनाउन ३० सांसद आवश्यक पर्दछ । त्यतिबेला कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र गरी कुल ३१ सांसदको साथमा कांग्रेसका कृष्णचन्द्र नेपाली जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अहिलेको अवस्थामा दुई सांसद रहेको जनमोर्चाले साथ छाड्नासाथ गठबन्धनमा बहुमत पुग्दैन र सरकार अल्पमतमा पर्छ ।
संविधानको धारा १६८ (५) मुख्यमन्त्री नियुक्त भएपछि पोखरेलले उपधारा ६ बमोजिम विश्वासको मत लिएका थिए ।
यस्तो अवस्थामा सरकार अल्पमतमा परे के हुन्छ ? भन्ने चर्चा नै गण्डकीमा गठबन्धनसहित आम चासोको विषय बनेको छ ।
उपधारा ७ मा जाँदा चाहिँ ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी प्रदेश प्रमुखले प्रदेशसभा विघटन गर्न सक्ने प्रावधान रहेको छ ।