नारायणकाजी श्रेष्ठले बैठकमै प्रचण्डलाई यसरी थर्काएपछि
एमसीसी संसदबाट अनुमोदन भएसँगै नेकपा माओवादी केन्द्रको विवाद चुलिएकै समयमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच सवाल–जवाफ भएको छ ।
केही दिनअघिको पत्रकार सम्मेलनमा प्रचण्डले नेता श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइए पनि कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएपछि विवाद चुलिएको थियो।
बैठकमा प्रचण्डले कठिन परिस्थितिबाट प्रतिगमनविरुद्धको संघर्षमा जित हासिल भएको बताएका थिए । उनले एमसीसी सम्झौताका बेला ध्यान दिनुपर्ने भए पनि दिन नसकिएको स्वीकार गरेका छन् ।
प्रचण्डले एमसीसी राष्ट्रिय हित अनुकुल नरहेको र राष्ट्रिय हित प्रतिकुल रहेकोले त्यसबेला ध्यान पुर्याउन नसकिएको प्रचण्डले बताएका बैठक सकिएपछि नेता देव गुरुङले बताए ।
एउटा सम्झौता गरिसकेपछि समझदारीको बाटो त खोज्नुपरेको भन्दै उनले खारेज गर्ने अवस्था पनि नरहेकोले संसोधनका लागि प्रयास गरिएपनि संसोधन गर्न नसकिएको बताए ।
जस्ताको त्यस्तै एमसीसी पारित गर्न दलभित्रैबाट दबाब आए पनि बीचको बाटो अपनाइएको प्रचण्डको भनाइ थियो ।
बैठकमा नेता श्रेष्ठले एमसीसी राष्ट्रिय हित प्रतिकुल भएको भन्दै अध्यक्ष प्रचण्डसँग निक्कै रिसाएका थिए । उनले एमसीसी सम्झौता गर्दा ध्यान नदिएको आरोप नेतृत्वकर्तालाई लगाउँदै अध्यक्ष प्रचण्डसँग जंगिएका थिए । उनले भने, ‘यो सम्झौता गर्दा ध्यान दिनुपर्थ्यो तर दिइएन। यी यी प्रावधान बेठीक छन् भनेर राखे। एमसीसीमा मेरो सुरुदेखि नै यो पास हुनुहुँदैन भन्ने नै हो ।’
आफूले एमसीसी अनुमोदन हुनुअघिसम्म कहाँ कहाँ राष्ट्रघात छन्, कहाँ–कहाँ जनघात भयो रु यो सैन्य रणनीति अनुसार कहाँ कहाँ छ भन्ने विषयमा विस्तृत रुपमा व्याख्या पनि गरेको उनले बताए ।
श्रेष्ठले पार्टीभित्र फरक मतबारे छलफल चलिरहने भन्दै भने, ‘हतारोमा अनुमोदन भयो। यसमा सबैसँग सरसल्लाह गरेर अघि बढ्नुपर्थ्यो। फरक मत रहेको स्थितिमा पार्टीभित्र समयक्रममा छलफल चलिरहन्छ ।’