पुटिनले अमेरिका सामू राखेको नयाँ शर्तले विश्वभर मानिसहरु चिन्तित
एजेन्सी – सन् २००८ पछि तेलको मूल्य सर्वाधिक महँगो भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वव्यापी बजारमा इरानको तेलको सम्भावित फिर्तीमा ढिलाईका साथै अमेरिका र युरोपियन युनियनको तर्फबाट रुसी तेलको आयातमाथि प्रतिबन्धको विचारका कारण मूल्य आकाशिएको हो ।
इरानसँग सन् २०१५ को परमाणु सम्झौतालाई बहाल गर्ने कोसिस गरिँदैछ तर अनिश्चितता थप बढेको छ । रुसले युक्रेनमाथि हमलापश्चात् लगाएको प्रतिबन्धका कारण इरानसँग उसको कारोबार प्रभावित हुन नहुने शर्त राखेको छ ।
रोयटर्सले स्रोतलाई उद्धृत गर्दै चीनले पनि नयाँ शर्त राखेको बताएको छ । रुसको नयाँ मागमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले युक्रेनमाथि हमलाका कारण रुसमाथि लागेको प्रतिबन्धलाई इरानसँगको परमाणु सम्झौतासँग जोड्नुको कुनै अर्थ नभएको बताएका छन् ।
अर्कोतर्फ अमेरिका र युरोपका सहयोगी देश रुससँग तेल आयात गर्न प्रतिबन्धको विकल्पमाथि विचार गरिरहेका छन् । अमेरिकी विदेशमन्त्रीले पनि ह्वाइट हाउस कांग्रेसनल कमिटीसँग रुसको तेलमाथि प्रतिबन्धका लागि कुरा गर्ने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ब्रेन्ट क्रुडको मूल्य ७ मार्चमा १२९.७८ डलर प्रति ब्यारल पुगेको छ । यस्तै, यूएस टेक्सस इन्टरमिडिएट (डब्ल्यूआईटी) क्रुडको मूल्य पनि १०.८३ प्रतिशतको बढोत्तरीका साथै १२६.५१ डलर प्रति ब्यारल पुगेको छ । यसअघि सन् २००८ मा ब्रेन्ट १३९.१३ डलर प्रति ब्यारल पुगेको थियो ।
थिङ्क ट्याङ्क इनर्जी आस्पेक्टकी सह–संस्थापक अमृता सेन भन्छिन्, ‘इरान एक मात्र कारक थियो जसमार्फत् तेलको मूल्यमा नियन्त्रण पाउन सकिन्थ्यो तर परमाणु सम्झौतामा ढिलाई भइरहेको छ । यदि रुसको तेल पनि बजारबाट बाहिर भयो भने स्थिति थप भयानक हुनसक्छ ।’ विश्लेषकका अनुसार यो हप्ता तेलको मूल्य १८५ डलर प्रति ब्यारल पुग्न सक्छ ।
एसएन्डपी ग्लोबलका उप–प्रमुख तथा लेखक ड्यानियल येर्गिनले रोयटर्ससँग भने, ‘अत्यावश्यक वस्तु भएका कारण तेल र ग्यासमा प्रतिबन्ध नलगाइने कुरा थियो तर नीजि कम्पनी आफैंले तेल खरिद गर्न बन्द गरिदिन्छन् र यसले पूरा आपूर्ति व्यवस्था प्रभावित हुन्छ ।’
रुस करिब ७० लाख ब्यारल तेल प्रति दिन निर्यात गर्छ । तेलको विश्वव्यापी आपूर्तिमा रुसको हिस्सा सात प्रतिशत छ । रुसी पोर्टबाट कजाकिस्तानको तेल पनि निर्यात हुन्छ र यो पनि तनावका कारण प्रभावित भएको छ ।
बैंक आफ अमेरिकाका विश्लेषकका अनुसार रुसको तेलको धेरैजसो निर्यात रोकिएको छ र यसमा हरेक दिन ५० लाख ब्यारलको गिरावट आउन सक्छ । यसको अर्थ कच्चा तेलको मूल्य २०० प्रति ब्यारलसम्म पुग्न सक्छ ।