नारायणकाजी र लिलामणीको एमसीसी क्रान्तिकारिता आजकै मितिबाट सकिएको हो एक चुट्कीमै प्रचण्डले गरिदिए खेल खत्तम

मंगलबार, २४ फाल्गुन २०७८

काठमाडौं – फरक मत राख्दै आएका नेताहरुलाई समेत सहमतीमा ल्याएर नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ । पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले अपिल पनि सार्वजनिक गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ । एमसीसीबारे २०७९ जेठ २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय पनि भएको छ, ती केन्द्रीय सदस्यले भने ।

पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको माओवादीका केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै, माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ ।

यसैबीच, अमेरिकी सहयोग परियोजना एमसीसीले पार्टी फुट्ने संघारमा पुगेको नेकपा माओवादी केन्द्रभित्रको विवाद अब साम्य भएको छ । एमसीसी पास भएपछि पार्टीमा फरक मत राख्दै आएकाहरुलाई धमाधम नयाँ जिम्मेवारी दिदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाखी देखाएका हुन् ।

माओवादीले स्थानीय निर्वाचन लक्षित गरेर चुनावी कमाण्डर तोकेको छ। काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेशसहित विशेष क्षेत्रमा कमान्डर तोकेको हो।

बैठकले एमसीसीका विषयमा फरक मत राख्दै आएका नारायणकाजी श्रेष्ठ र लिलामणि पोखरेललाई समेत जिम्मेवादरी तोकेको छ।

स्रोतले दिएको जानकारी अनुसार एमसीसीको विरोध गर्न नपाइने शर्तमा उनीहरुलाई प्रचण्डले उक्त जिम्मेवारी सुम्पिएका हुन् । चुनाव पनि नजिकिरहेका बेला पार्टीभित्र लफडा भए पार्टीकै अस्तित्व संकटमा पर्ने भन्दै प्रचण्डले विरोधी नेताहरुलाई एकएक गरी ललिपप खुवाउन थालेका स्रोतको दाबी छ ।

केन्द्रीय सदस्य लोकेन्द्र लम्सालका अनुसार श्रेष्ठलाई विभिन्न मोर्चाहरुको जिम्मेवारी तोकिएको छ भने पोखरेललाई उपत्यका विदेश समन्वय प्रदेशको जिम्मेवारी दिइएको छ।

त्यस्तै प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टलाई जिम्मेवारी दिइएको छ। सम्पर्क समन्वय प्रदेशमा भने डिलाराम आचार्यलाई तोकेको नेता लम्सालले बताए।