पार्टीको महत्वपूर्ण निर्णयसहित बालुवाटार छिरे विप्लव
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । केही दिनदेखि काठमाडौँमा बसेको बैठक आज सम्पन्न भएको हो ।
बैठकमा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा पार्टीको भुमिका, तीन बुँदे सहमतिपछि पार्टीको अवस्था, पक्राउ परेका नेताहरुको रिहाई र झुठा मुद्धा खारेज लगायतका एजेण्डामा रहेर छलफल भएको थियो ।
छलफलपछि पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईका लागि महासचिव विप्लव र प्रकाण्डले विशेष पहल गर्ने निर्णय भएको नेकपा श्रोतले जनाएको छ । उक्त जिम्मेवारी अनुसार बैठक समापन भएको केही समयमा नै नेताहरु छलफलमा केन्द्रीत भएका छन् ।
महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड तीन बुँदे सहमति कार्यान्वन गर्नका लागि दवाव दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न प्रकाण्डसहित बालुवाटार पुगेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले पनि शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर चासो राखेका थिए ।
छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ।
नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ।
यसअघि विप्लवले गृहमन्त्री खाणसँग छुट्टै भेटेर नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल गरेका थिए ।
छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए।
गृहमन्त्री खाणले प्रक्रिया पुर्याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने बताएका थिए।