प्रचण्डका लागि बल्ल आयो खुशीको खबर !
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का लागि बल्ल खुशीकाृ खबर प्राप्त भएको छ । सत्तासाझेदार प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु भएपछि केही दिनदेखि तनावमा देखिएका प्रचण्ड खुशी भएका हुन् ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका छन् ।
चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ्ने समझदारी गरेको छ। शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा औपचारिक निर्णय गरेसँगै संयन्त्र निर्माण गरेर अघि बढ्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।
स्थानीय तहको निर्वाचन तालमेलसहितका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार बैठक बोलाएको छ। संस्थापन इतरका केही नेता भने अन्य दलसँग मिलेर नभई एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर सभापति देउवासहित संस्थापन पक्ष सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर जानुपर्ने पक्षमा छ।
संस्थापन पक्ष ६ वटा महानगरपालिकामा तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएको छ। त्यसका अतिरिक्त ११ उपमहानगरपालिकामा पनि आवश्यक परे भागबन्डा गरेर जान कांग्रेस सहमत हुने निकट स्रोतको दाबी छ।