देउवाले ओलीलाई यत्ति एउटा कुरा भन्न बाँकी थियो, त्यो पनि भने

शनिबार, १२ चैत्र २०७८

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले सबैभन्दा बलियो पार्टी भएको बताएका छन् । एमाले कमजोर भयो भन्नु दिवासप्ना मात्र भएको भन्दै देउवाले गठबन्धन नगर्दा एमाले फेरी पहिलो पार्टी हुने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै देउवाले अर्का नेता शेखर कोइरालालाई लक्षित गर्दै यस्तो कुरा बताएका हुन् । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका थिए ।

जवाफमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि ?,’ उनले अघि भने, ‘उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔं के भयो र !’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि !’ कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताए ।

कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले अघि भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ ।’ गठबन्धनको पक्षमा उभिँदै आएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई गेटआउट भन्न समिल्ने समेत बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा आफू चुनावकै पक्षमा रहेको, तर अदालतले संसद पुनस्र्थापना गरेको र सबैको सहयोगमा आफू प्रधानमन्त्री भएको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री बनाउने साथीलाई अहिले मैले गेट आउट भन्न मिल्छ ?’ उनको प्रश्न छ, ‘प्रधानमन्त्री बन्नु गल्ती हो भने भन्नुस् ।’