कांग्रेस बैठक : अप्रत्यासित रुपमा आयो एमालेसँग तालमेल गर्ने प्रस्ताव
काठमाडौं – दुई दिन बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा थरिथरीको सुझाव आएका छन् । केही केन्द्रीय सदस्यहरुले माओवादीसँग तालमेल गर्न सकिने बताएका छन् भने केहीले माओवादी, एमाले, राप्रपा सबैसँग तालमेल गर्न सकिने बताएका छन् ।
बैठकमा केही केन्द्रीय सदस्यले नेकपा एमालेसँग पनि ठाउँ विशेषमा तालमेल गर्नुपर्ने तर्क अघि सारेका छन् । धेरै स्थान कर्णालीमा माओवादीलाई छोड्नुको साटो एमालेसँग सहकार्य गर्न सकिने केही नेताको तर्क छ ।
तनहुँका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो जिल्लामा पनि माओवादी केन्द्रले जितेका स्थानमा एमालेसँग सहकार्य गर्न सकिने मत राखेका थिए । उनलाई सभापति देउवाले प्रतिपश्न गरेका छन्, ‘कांग्रेसले अघिल्लोपटक जितेका स्थानमा अहिले माओवादीले सहयोग गरेन भने के हुन्छ ?’
भक्तपुरको सन्दर्भमा फरक विचार राख्दै केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाल मजदुर किसान पार्टी बलियो भएकाले कांग्रेसलाई विजयी गराउन उनले विकल्प सुनाएका थिए । उनले भनेका थिए, ‘भक्तपुरमा सत्ता गठबन्धनसँग मात्रै तालमेल गरेर नहुने भए जित्नका लागि एमालेसँग पनि मिलेर नेमकिपा हराउनुपर्दछ ।’
सिन्धुलीमा एमालेसँग सहकार्य गर्न सकिने विकल्प पनि केन्द्रीय समिति बैठकमा उठेको छ । सिन्धुलीमा चुनावी प्रचारमा खटिएकी केन्द्रीय प्रतिनिधि मुक्ताकुमारी यादवले भनिन्, ‘एमालेसँग तालमेल गरेर जान सकिने विचार कार्यकर्ताले उठाएका छन् । केन्द्रीय समिति बैठकमा कार्यकर्ताको बोली राखिदिकी छु ।’
नेताहरुका अनुसार तालमेलको मोडालिटी बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मतभारलाई प्रमुख आधार बनाइने छ । २०७४ सालको निर्वाचनमा गठबन्धनका दलमध्ये आफू पहिलो स्थानमा रहेको पालिकाको मूल नेतृत्वमा कांग्रेसले दाबी गर्नेछ ।
अघिल्लो पटक माओवादी केन्द्रले जितेका स्थानमा तालमेलको मोडालिटी हुने भन्ने अन्यौल छ । माओवादी विजयी भएको स्थान छोड्दा कर्णालीमा धेरै स्थान दिनुपर्ने नेताहरुको बुझाई छ । तालमेलको पक्षमा रहेका कर्णाली प्रदेशका कांग्रेस सभापति ललितजंग शाही भन्छन्, ‘अघिल्लोपटक कांग्रेसले भन्दा माओवादीले धेरै जितेको भएपनि सबै छोड्न सकिन्न । त्यहाँको अवस्था हेर्नुपर्दछ ।’