ह्वातै घट्ने भयो माओवादीको भोट, लुम्बिनीका मुख्यमन्त्रीले घटाए अर्को काण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्र दिन प्रतिदिन बदनाम बन्दैछ । संसदीय राजनीतिमा भाँसिएर जनयुद्धको बदनाम गरेको आरोप लागिरहेका बेलामा लुम्बिनीका मुख्यमन्त्रीले ७ अर्बको काण्ड घटाएका छन् । यो काण्डले माओवादी केन्द्रको भोट ह्वात्तै घट्ने भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि खोलिएको टेण्डरमा मुख्यमन्त्री कुलबहादुर केसीले सेटिङ मिलाएर टेण्डर दिएको खुलासा भएको छ । त्यही कारण प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मुख्यमन्त्री केसीको मिलेमतोमा ठेक्का भएको पुष्टि भएको भन्दै उनले राजीनापत्र बुझाएका हुन् । घिमिरेले आफू उक्त ठेक्का रद्द गरेर राजीनामा दिएको बताएका छन् । आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २, फागुन २०७८ मा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ८ फागुनमा भवन निर्माणको लागि टेन्डर आह्वान भएको बताएका छन् ।
प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष केसी आफैं छन् । सुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आशंका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको उनको दाबी छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायी महासंघबाट समेत पत्र आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अन्त्यमा जम्मा २ वटा कम्पनीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो, उक्त जानकारी पनि कार्यालय (प्राधिकरण) ले सम्बन्धित निकायलाई दियो,’ उनले विज्ञप्तिमा भनेका छन् । उनले सम्बन्धित निकाय भनेर मुख्यमन्त्रीको कार्यालय र प्रदेश पूर्वाधार विकास समितिलाई संकेत गरेका हुन् ।
बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएको उनले बताएका छन् । उक्त कारण पनि मिलेमतोको आशंका पुष्टि भएको घिमिरेको भनाइ छ ।
‘मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें, ‘घिमिरेले भनेका छन्, ‘ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु।’
उनले राजीनामा घोषणा गर्दै २०५६ सालदेखि आवद्ध रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेका छन् ।
घिमिरेले यसअघि मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिन पदमा हुँदाहुँदै ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ति लिएका थिए । दोहोरो सुविधा लिएको समाचार सार्वजनिक भएपछि विद्युत् उत्पादन कम्पनी लिमिटेडको पद गुमेको थियो । त्यसपछि उनी लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणमा नियुक्त भएका थिए ।
