मौसमविद भन्छन्, आज दिनभर घाम लाग्छ, भोलिदेखि तीनदिन बदली

शुक्रबार, २० पौस २०७५

पौष २०, काठमाडाैँ – देशको पश्चिमी तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद वरुण पौडेलले दिएको जानकारी अनुसार बिहानीपख केही स्थानमा कुहिरो लागेपनि दिउँसो अधिकांश ठाउँमा घाम लाग्नेछ।

काठमाडौँ उपत्यकामा शुक्रबार बिहानको न्यूनतम तापक्रम १.१ डिग्री रहेपनि दिउँसो घाम लाग्ने र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकोबीचमा रहने पौडलले जानकारी दिए।

तर पश्चिमी वायुको प्रभावका कारण भोलि(शनिबार) देखि तीनदिनसम्म मौसममा आंशिकदेखि पूर्ण बदली रहने छ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहने भएकोले आंशिक बदली देखि पूर्ण बदली भई पानी पर्ने सम्भावना रहने मौसमविद पौडेलले जानकारी दिए।