आइसीयुमा रहेका ठाकुरको कस्तो छ स्वास्थ्य अवस्था ? नेता कार्यकर्ता निरास

बिहिबार, २४ चैत्र २०७८

काठमार्डौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको काठमाडौँमा उपचार भइरहेको छ । मेडिसिटी अस्पतालको आइसीयुमा रहेका उनको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।

अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्यक्ष ठाकुरलाई हिजो राती ज्वरो र झाडा पखाला सुरु भएको थियो ।

त्यसपछि उनलाई स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।