काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बर्षा
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पश्चिमबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य र पश्चिमका क्षेत्रमा पानी परेको मौसमविद शान्ती कँडेलले जानकारी दिइन् ।
पश्चिम क्षेत्र हुँदै हल्का पानी पर्ने क्रम मध्य क्षेत्रमा आएको हो । अहिले मध्य र पश्चिमका धेरै क्षेत्रमा हल्का पानी परेको छ । दिउँसो पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । सोमबार दिनभर देशभरको मौसम बदली हुने र हल्का पानी पर्ने छ ।
यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हल्का हिउँ पनि परेको छ । फुलचोकी आसपासका क्षेत्र, दामन, कालिमचोक आसपासका क्षेत्रसहितका ठाउँमा हल्का हिउँ परेको मौसमविदले बताएका छन् । यस्तै चन्द्रगिरी क्षेत्रमा पनि हिउँ परेको हुन सक्ने मौसमविदले बताएका छन् ।