उपसचिव पोखरेलले खोले विचौलियाको पोल, सिंहदरवारभित्र चल्छ यस्तो धन्दा

आइतबार, ११ बैशाख २०७९

काठमाडौँ – नेपालको सार्वजनिक प्रशासनिक क्षेत्रमा भइरहेको भ्रष्टाचार, अनियमितता र कुशासनको बारेमा बोल्दै आएका एक उपसचिवले अर्को पो खोलेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै विचौलिया रहेको भन्दै गम्भीर रहस्य खोलेका हुन् ।

सार्वजनिक पद धारण गरेकाहरु नै विचौलियाको रुपमा रहेको उनको भनाई छ । सरकारी कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा कार्यकारी सदस्यहरु नै विचौलियाको रुपमा प्रस्तुत हुँदा राज्य संचालनमै अवरोध भएको उनको भनाई छ । राजनैतिक संलग्नताका कारण ट्रेड युनियनधारी कर्मचारीहरुले बिचौलियाको काम गरेको उनको भनाई छ ।

कर्मचारी संयन्त्रमा विभिन्न पार्टीका भातृ संगठनहरु निर्माण हुँदा यसको असर सेवा प्रवाहमा देखिएको उनको विश्लेषण छ । कर्मचारी तन्त्रमा नेकपा एमालेको सबैभन्दा ठूलो संगठन छ ।

एक अनलाइन मिडियामा अन्तरवार्ता दिदै पोखरेलले उनीहरुले सरकारी पदको आवरणमा सार्वजनिक सेवालाई निकम्मा बनाएको आरोप लगाए । उनले सरकारी कार्यालयहरुमा एकातिर राजनीतिक पार्टीका भ्रष्ट, भ्रष्ट प्रशासक तथा राजनीतिज्ञ मात्र अर्कोतिर मुर्दा दासहरु तथा अल्छेहरुको मात्र जमात हुने गरेको जिकिर गरे ।

‘कुनै दलको राजनीतिमा नलागेका कर्मचारी पाउन र कुनै लेनदेनमा रुचि नभएकाहरुले सेवा पाउन नेपालमा निकै गाह्रो छ ।’ उनले भने, ‘निष्पक्ष तथा तटस्थ हुने कर्मचारीहरुलाई कार्यालयहरुमा अभिभावकत्व, कुनै महत्वपूर्ण जिम्मा र स्थान छैन । भौतिक रुपमा जिवित भएर पनि स्वअस्तित्व नभएका जाँगर, जोस् हराएका वा कुनै सीप र क्षमता नभएका, सिर्जनशीलता हराएका अल्छी र निकम्मा कर्मचारीहरुको भीड चाहिँ कार्यालयहरुमा बाक्लो देख्न पाइन्छ ।’

पक्षपाती व्यवहार, कार्यशैलीबाट सेवाभावमा निराशा राख्ने, कुनै उत्साह नभएका कर्मचारीहरुको भरमा मुलुकको समृद्धि र विकासको सपना देखाउनु जनताप्रति ठूलो गद्दारी हुने उनको भनाई ।

संघीयता कार्यान्वयनका लागि ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ का विरुद्ध खरो उत्रिएका पोखरेललाई प्रहरी पक्राउ गरेर हिरासतमा समेत राखेको थियो । लामो लडाई पछि सरकारले उनको माग सम्बोधन गर्दै मन्त्रालयमा नियुक्ति दिएर काममा फकाएको थियो ।