दुई सचिवालय सदस्यलाई कारवाही गर्दै विप्लवले निकाले यस्तो विज्ञप्ति

बुधबार, १४ बैशाख २०७९

काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीले पार्टीको हित विपरितका गतिविधिमा संग्लन्न दुई जना सचिवालय सदस्यलाई कारवाही गरेको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई कारवाही गरेका हुन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न वैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘हामी पार्टीमा यस्तो नहोस भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको छ । ’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि हामी सबै पार्टी पंक्तिलाई बाह्रो पूर्ण वैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं ।’

नेकपाको १२ औँ केन्द्रीय समिति बैठकले गरेको निर्णयहरुको बारेमा पार्टीको तेश्रो र चौथो बरियताका कन्चन र सुदर्शनले गलत व्याख्या गर्दै भ्रम फैल्याएका थिए । केही दिन संयमित भएका विप्लवले अन्तिम समयमा आएर दुबै जनालाई कारवाही गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति