केपी ओलीको मुखमा कसले राखिदियो अँगार ?

बुधबार, १४ बैशाख २०७९

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुखमा अंगार भएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले अध्यक्ष ओलीको मुखमा अंगार भएकाले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् ।

उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए । ‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ । त्यसपछि उहाँहरुले भन्नुभयो । तपाईँलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ ? केपी ओलीले क–कसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर तपाईं झुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ ।’

पहिला पनि ओलीले पागल भनेर गोविन्द केसी र सुशीला कार्कीलाई भनेको भन्दै थापाले सनक्क सन्किसकेपछि उनले भन्ने नै पागल शब्द भएको जिकिर गरे ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।