माओवादी केन्द्रले काठमाडौँमा पनि खोल्यो खाता, एक जना निर्वाचित
काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एक जना निर्विरोध निर्वाचित भएकी छन् । काठमाडौँको शंखरापुर नगरपालिकामा एक वडा सदस्यकी उम्मेदवार निर्विरोध निर्वाचित भएकी हुन् ।
सो नगरपालिकाको वडा नम्बर २ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी मनिषा परियार ‘वर्षा’ निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट दलित महिला सदस्य पदको कुनैपनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय शंखरापुरकी निर्वाचन अधिकृत सीता निरौला फुयाँलले जानकारी दिइन् ।
निर्वाचन सम्पन्न भएपछि मात्रै उनी निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । यसैबीच शंखरापुर नगरपलिकामा विना गठबन्धन दलहरु चुनावी प्रक्रियामा अघि बढेका छन् ।
काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले आ–आफ्नो प्यानल सहितको उम्मेदवारी दर्ता गराएका छन् ।