केशव स्थापितले गरे ‘मिटू’ भन्दा ठूलो महिला हिंसा

शुक्रबार, १६ बैशाख २०७९

काठमाडौं – नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले अर्को महिला हिंसा गरेका छन् । बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा स्थापितलाई एक जना महिलामाथि हिंसा गरेका हुन् ।

कार्यक्रममा सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न महिलालाई ‘यो महिलाले वेश्यावृत्ति’ गर्छ भनेर पत्रिकामा छपाईदिने भन्दै धन्की दिएका थिए । सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका थिए ।

उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

‘सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर पछि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

यस्तो थियो रावतको प्रश्न

मेरो प्रश्न केशव स्थापित सरलाई,

विगतमा महागनर यस्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्टको दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो ।

मलाई सबैभन्दा खड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, अथवा तपाईंकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको एक्सपेलेसन (स्पष्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो ।

गल्ती भएको हो भने त्यो अपराध हो । अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन ।