माओवादी र एमालेले उम्मेदवारी फिर्ता लिएपछि रंगमति बनिन् पहिलो महिला अध्यक्ष
सुर्खेत – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । हुम्ला खर्पुनाथ गाउँपालिका वडा नम्बर ४ की नेपाली काँग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी हुन् ।
उनी निर्विरोध निर्वाचित भएपछि सिंगो जिल्लाबाटै महिला वडाध्यक्ष हुने इतिहास पनि रचेकी छिन् । खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए ।
उनका अनुसार दुई जनाले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाध्यक्ष घोषणा गरिएको हो ।
खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए । माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । एमालेका उम्मेदवारले भने आफै फिर्ता लिएका हुन् ।