निर्वाचनकै मुखमा एकीकृत समाजवादीलाई धक्का, पुरै गाउँ कमिटी एमालेमा प्रवेश
काठमाडौँ – दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी ) को सिंगो गाउँ कमिटी नै रित्तिएको छ । उक्त पालीकाको पुरै कमिटिनै नेकपा एमालेमा समाहित भएपछि सिंगो पालिका नै रित्तिएको हो ।
बुधबार एक संयुक्त विज्ञप्ती जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको ठाटीकाँध गाउँ कमिटी नै एमालेमा समाहित भएको छ । नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमारविक्रम शाही र नेकप (एकीकृत समाजवादी) ठाटीकाँध गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ती जारी गरि जानकारी दिएका हुन्।
विज्ञप्तीमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नती, प्रगती र नमूना गाउँपालिका निर्माणका लागि तथा भावीपुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गरिएको उल्लेख छ।
‘स्थानीयतह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा९एकीकृत समाजवादी० पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा ९एकीकृत समाजवादी० नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटिमा पार्टी एकतासहित समाहित भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
एमालेमा समाहित भएका नेकपा ९एकीकृत समाजवादी०का नेताहरुलाई एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु सुर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेकोतर्फबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाहलगायतको उपस्थितीमा स्वागत गरिएको छ ।