एमाले उम्मेदवारको घरमा बम भेटियो

बिहिबार, २२ बैशाख २०७९

काठमाडौँ – मोरङको सुन्दरहरैँचामा उम्मेदवारको घरनजिक बिहीबार बिहान बम भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका(११ शुक्रबारेस्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । ढकाल नेकपा (एमाले) का तर्फबाट वडा सदस्यका उम्मेदवार हुन् ।

घटनास्थलमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं भन्ने पर्चा भेटिएको थियो । पर्चा सोही प्रेसर कुकरमा टेपले बाँधेर राखिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार उक्त शंकास्पद वस्तु कसले राखेको भने खुल्न सकेको छैन । शंकास्पद वस्तु आसन्न स्थानीय तह निर्वाचन विरोधी समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेर वरपर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ़ गैसकेको छ । घटनास्थल पुगेर टोलीले यकिन गरेपछि उक्त वस्तु बम होकि हैन भनेर पुष्टि हुने प्रहरीले जनाएको हो । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरेर शंकास्पद वस्तु राख्न्नेको खोजी सुरु गरिएको जानकारी दिएका छन् ।