मोदि किन हेलिकप्टरबाट सुटुक्क लुम्बिनी उत्रिदै छन्, खुल्यो भित्रि रहस्य ?
काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि जेठ २ मा हेलिकोप्टरबाट लुम्बिनी उत्रिने भएका छन् । मोदी दिल्लीबाट विमानमा लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आउने र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने तयारीमा छन् ।
भैरहवाको हवाई रुट ‘ब्राभो ३४५’ लाई दुईतर्फी बनाउने नेपालको प्रयासलाई भारतीय अधिकारीले नरोकेको भए सम्भवतः उनी विमानबाट सोझै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने थिए ।
भर्खरै निर्माण सम्पन्न भएको लुम्बिनी छेवैको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि नै कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै छ । उक्त विमानस्थलमा परीक्षण उडान भइसकेको छ । मोदी हेलिकोप्टरमा आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदै छ । ब्राभो ३४५ मा उडान दुईतर्फी बनाउन भारतीय अधिकारी नै तयार नभएको पृष्ठभूमिमा मोदीलाई सोझै विमानबाट भैरहवा उत्रन नैतिक रूपमा अप्ठेरो परेकाले हेलिकोप्टरमा आउन लागेको हुन सक्ने प्राधिकरणका एक अधिकारीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली तथा खाडी मुलुकतर्फ जाने जहाजहरू ब्राभो ३४५ रुट भएर भैरहवाको आकाश हुँदै बाहिरिन्छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार ब्राभो ३४५ र महेन्द्रनगर भएर निस्किने लिमा ६२६ रुटलाई दुईतर्फी बनाउन नेपालले ५ वर्षदेखि भारतसँग आग्रह गर्दै आएको छ । तर भारतले आलटाल गर्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७४ मा भएको भारत भ्रमणका बेला भारतीय समकक्षी मोदीले नेपालले हवाई रुटमा व्यहोर्नुपरेको सास्तीमा सघाउने प्रतिबद्धता गरेका थिए । त्यस विषयमा दुई पक्षबीच लिखित सहमतिसमेत भएको थियो ।
स्रोतका अनुसार यी हवाई रुटलाई दुईतर्फी बनाउने कामलाई भारतीय अधिकारीले अन्तिम चरणमा रोकिदिएका हुन् । ‘दुई देशका सरकार प्रमुखको सहमतिपछि प्राविधिक टोलीबीच बैठक भयो, रुटमाथि प्राविधिक अध्ययन पनि गरियो । तर अन्तिममा यी रुटबारे एयरर्याकमा प्रकाशन गर्ने बेला काम रोकियो,’ रुटका विषयमा छलफल गर्न गठित कार्यदलका एक अधिकारीले भने, ‘भारतले किन रोकेको हो थाहै छैन । त्यसपछि कोभिड महामारी सुरु भयो । अब नेपालले पहल गर्नुपर्छ ।’ प्राधिकरणका अनुसार ०७५ कात्तिकमा नेपाल–भारतबीचको संयुक्त प्राविधिक बैठकमा महेन्द्रनगरको वायुक्षेत्रबाट नयाँदिल्ली हुँदै पश्चिमी मुलुकहरूतर्फ जाने रुटलाई दुईतर्फी बनाउन सहमति भएको थियो ।
भारतले सहमति नजनाउँदा मध्यपूर्वी मुलुक तथा नयाँदिल्ली हुँदै आएका जहाज महेन्द्रनगरको रुटबाट नेपाली वायुक्षेत्रभित्र प्रवेश गर्न पाउँदैनन् । गत चैत दोस्रो साता दक्षिण भारतको हैदराबादमा आयोजित ‘विंग्स इन्डिया स् ग्लोबल एभिएसन समिट २०२२’ मा सहभागी हुन पुगेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतका उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियालाई भैरहवा र महेन्द्रनगरको हवाई रुटलाई दुईतर्फी बनाइदिन आग्रह गरेका थिए ।
त्यही समयमा नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले पनि भैरहवाको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र अब सञ्चालनमा आउन लागेको पोखरा विमानस्थलका लागि ब्राभो ३४५ र लिमा ६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन लिखित पत्र बुझाएको थियो । उक्त पत्रको कुनै जवाफ नआएको प्राधिकरणले जनाएको छ । मन्त्री आलेले गत कात्तिकमा नयाँदिल्ली पुगेका बेला लिमा ६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन आग्रह गर्दा भने सिन्धियाले आफू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष र भारतीय दूतावासले तयारी तीव्र रूपमा अघि बढाएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावास र विदेश मन्त्रालय पनि उक्त भ्रमणको तयारीमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी २५६६ औं बुद्ध जयन्तीका अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् । मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले बनाउने विहारको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ मा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्नेछन् । समारोहमा मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको सम्मान दिने तयारी छ । उक्त कार्यक्रमका लागि पर्यटन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले गृहकार्य गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणमा परराष्ट्रमन्त्री नारायण खड्काले सुरुमा मोदीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि देउवा र मोदीबीच द्विपक्षीय वार्ता हुने सम्भावना छ । त्यही वार्ता र उठाउनुपर्ने एजेन्डाका सवालमा गृहकार्य भइरहेको स्रोतले जनाएको छ । ‘द्विपक्षीय वार्ता नभए यो धार्मिक भ्रमणकै रूपमा सीमित हुनेछ,’ स्रोतले भन्यो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका सदस्यसचिव सानुराजा शाक्य मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले नेपाललाई निकै फरक पार्ने बताउँछन् । ‘यो हाम्रा लागि कोसेढुंगा हो । यहाँ पर्यटक बढ्छन् । पर्यटन व्यवसाय राम्रो हुन्छ,’ उनले भने, ‘अर्कातर्फ विश्वमा बुद्धको जन्मस्थलका बारेमा प्रवाह भएको गलत सूचनालाई भारतीय प्रधानमन्त्रीको भ्रमणले चिर्नेछ ।’
सदस्यसचिव शाक्यका अनुसार भारतका प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेको यो पहिलो पटक हो । भारत र नेपालले यसअघिदेखि नै ‘बुद्धिस्ट सर्किट’ बारे छलफल गरे पनि त्यसलाई टुंगोमा पुर्याइएको छैन । यस पटक मोदीले यस विषयमा केही बोल्न सक्ने र यो अवधारणा अघि बढ्न सक्ने पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।
मोदी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी चार पटक नेपाल आइसकेका छन् । मोदी प्रधानमन्त्रीका रूपमा पहिलो पटक २०७१ साउन पहिलो साता आएका थिए । मोदी दोस्रो पटक सोही वर्षको मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा २०७५ वैशाख अन्तिम साता नेपालको दुईदिने औपचारिक भ्रमण गरेका थिए । मोदी त्यही वर्षको भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलन क्रममा नेपाल आएका थिए ।