भरतपुरमा पाँच ठाउँमा मतगणना स्थल थपियो, अब १२ ठाउँबाट एकैसाथ गणना हुने
काठमाडौँ – मत परिणाम छिटो दिनका लागि भरतपुर महानगरपालिकाको मतगणना थप ५ ठाउँबाट हुने भएको छ। मत परिणाममा निकै ढिलाइ भएको भन्दै राजनीतिक दलहरु सम्मिलित सर्वदलीय बैठकले थप ५ ठाउँमा मतगणना गर्ने सहमति भएको हो।
मतगणना ढिलो हुन थालेपछि सोमबार साँझ सर्वदलीय बैठक बसेर गणना केन्द्र थप गर्न लागिएको माओवादी केन्द्रका बागमती प्रदेश सदस्य गोपाल न्यौपानेले बताए।
दलहरूको छलफलमा आठ ठाउँ थप्ने कुरा भयो। तर ब्यवस्थापनको हिसाबले पाँच ठाउँमा बनाउन सहमति भएको हो, उनले भने, छिटो मत गणना गर्नका लागि गणनाको केन्द्र थप गर्न सबै दलहरु सहमति भएको हो।
त्यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तयारीसमेत थालेको छ। साबिक ठाउँको मतगणनास्थलमध्ये एक ठाउँमा बाटो बनाइ अन्य पाँच ठाउँमा मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।
उनका अनुसार जाली हाल्ने काम भइरहेको र भोलि (बुधबार) देखि मतगणना सुरु गरिनेछ। अब १२ स्थानबाट मतगणना हुनेछ।