कार्यान्वयन भएन बालेनको पहिलो निर्णय, को बन्यो बाधक ?

मंगलबार, १७ जेष्ठ २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पहिलो गासमै ढुङ्गा लागेको छ । फोहोरमैला व्यवस्थापनका लागि गठन गर्ने भनिएको कार्यदल गठन हुन नसकेपछि उनको पहिलो निर्णय कार्यान्वय हुन सकेन ।

यसका लागि मंगलबार विहान कार्यदलको पहिलो बैठक बस्ने भनिएको थियो । सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले मंगलबार बिहान साढे ९ बजे बैठक बसेर कार्यदल गठन गर्ने भनेर जानकारी दिएको थियो।

उक्त नगर कार्यपालिका बैठकमा फोहोरमैला व्यवस्थापन निम्ति मेयरको संयोजकत्वमा मंगलबार पाँच सदस्यीय कार्यदल गठन गर्ने भनिएको थियो। उक्त कार्यपालिका समितिमा उपमेयरसहित नेकपा एमालेका एक जना वडाध्यक्ष, नेपाली कांग्रेसका दुई जना वडाध्यक्ष र एकीकृत समाजवादीका एक जना वडाध्यक्ष सदस्यका रूपमा रहने जनाइएको थियो।

उक्त समितिको सदस्य–सचिव महानगरका प्रशासकीय अधिकृत रहने बताइएको थियो। तर मंगलबार कार्यदल गठन भएन। वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले कार्यदलको बैठकबारे कुनै जानकारी नभएको बताए।

‘मेयरबाट आधिकारीक रूपमा बैठक बस्ने भनेर जानकारी आएको छैन,’ उनले भने, ‘यहाँका काम कार्यपालिका नियमावली अनुसार हुन्छ। त्यो पालना गरेर हामीलाई बोलाइएको छैन।’

महानगरका एक कर्मचारीले भने कार्यदल बैठकमा वडाध्यक्षहरू उपस्थित नभएकोले बैठक बस्न नसकेको जानकारी दिए। मेयरको सचिवालय प्रमुख महेश काफ्लेले बैठक बस्न नसके पनि फोहोर व्यवस्थापनका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल भइरहेको बताए।

‘यहाँ सिसडोलका विभिन्न समूहका मानिसहरू आएर कुरा गरिरहनुभएको छ। फोहोर व्यवस्थापनसँग जोडिएका अन्य मानिसहरूले पनि उहाँलाई निरन्तर भेटिरहनु भएको छ’ उनले भने, ‘यो समस्या छिट्टै नै समाधान गर्न उहाँ सकारात्मक हुनुहुन्छ।’