प्रतिपक्ष सांसदको एउटै घोषणाले देशभर तरङ्ग, अर्थमन्त्रीलाई थपियो चुनौती

बुधबार, १८ जेष्ठ २०७९

काठमाडौँ – प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद विमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा जसरी पनि चिनी मिल सञ्चालन गर्नुपर्ने बताएका छन् । सरकार चिन मिल संचालनमा ल्याउन गैरजिम्मेवार बनेको भन्दै उनले प्रतिनिधिसभाको बैठकमा मिल संचालन गर्नै पर्ने बताएका हुन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले यदी आगामिक आर्थिक बर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा भएको घर जग्गा सरकारको नाममा पास गरिदिने समेत घोषणा गरेका छन् । उनको यो घोषणाले सरकारलाई चुनाती थपिएको छ ।

बुधबारको प्रतिनिधि सभामा सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए । उनले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे।

उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे। उनले भने, ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ। त्यो स्वागतयोग्य छ। त्यसको लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु। साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहन्छु, यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ, भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन। तर यो दुइटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फण्डमा म आफ्नो व्यक्तिगत रूपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु।’