अर्थमन्त्री शर्माले आफु मनलाग्दी खर्च गर्नका लागि छुट्याए ५० औँ अर्ब रुपैयाँ

बिहिबार, १९ जेष्ठ २०७९

काठमाडौँ – यसपटकको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो तजबिजीमा मनलाग्दी खर्च गर्न सक्ने गरी ५७ अर्ब रूपैयाँ बजेट छुट्याएका छन् ।

बजेटमा अर्थमन्त्रालय अन्तर्गत विविध शीर्षकमा करिब १ खर्ब १२ अर्ब रूपैयाँ छुट्याइएको छ  यसमा विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथि सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, विपद राहतदेखि कम्प्युटर लगातको खरिद सबै खर्चहरू तोकिएका छन्।

त्यसबाहेक विविधमै भैपरी आउने चालु र पुँजीगत खर्च अन्तर्गत ५७ अर्ब रूपैयाँ छुट्याइएको छ।यो अर्थमन्त्रीको तजबिजीमा मनलाग्दी खर्च गर्न पाउने बजेट हो । यस्तो भैपरीमा राखिएको रकम कहाँ र कसरी खर्च हुने भनेर छुट्याइएको हुँदैन।

यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको अर्थमन्त्रीले आफ्नै तजबिजीमा खर्च गर्न सक्ने रकम हो, एक अर्थविदले भने, यो शीर्षकमा छुट्याइएको रकम के के मा खर्च गर्ने भनेर निर्क्यौल नै गरिएको हुँदैन।

यस्तो पैसा मनलाग्दी खर्च गर्न पाइन्छ। चालु आर्थिक वर्षमा भने अर्थ मन्त्रालयले आफू मातहतको यस्तो विविध शीर्षकमा ३७ अर्ब राखेको थियो। चालु आर्थिक वर्षमा यसबाट दस अर्ब रकम खर्च गरिएको आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले प्रकाशित गरेको खर्च विवरण देखाउने रातो किताबमा उल्लेख छ।

बजेटमा यस्तै शीर्षक नखुल्ने गरी भुक्तानी विधिका आधारमा खर्च शीर्षकगत व्यय अनुमान सम्बन्धी अनुसूची ५ मा पनि विविध खर्चमा एक अर्ब ६० करोड रूपैयाँ छुट्याइएको छ। यो विविध खर्चको रकम आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर भने गर्छन्। चालु आर्थिक वर्षमा ल्याइएको बजेटमा यस्तो विविध खर्चमा एक अर्ब ७४ करोड रूपैयाँ छुट्याइएको थियो।

बजेटमा यसरी शीर्षक खुलेर नआउने रकमको खर्च पनि अपारदर्शी मानिन्छ, ती विज्ञले भने, त्यसैले यो रकम बढ्नु भनेको अपारर्शी खर्च थप बढेको भनेर व्याख्या गर्न मिल्छ।