सपथ खाएको चार दिनमै बालेनले दिए मतदातालाई सरप्राइज !

बिहिबार, १९ जेष्ठ २०७९

काठमाडौं – काठमाडौँ महानगरपालिको मेयरमा निर्वाचित भएको दिनदेखि बालेन्द्र शाह (बालेन) जनताको पक्षमा डटेर लागेका छन् । सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटेर बालेनले राजनीति सन्तुलन राख्नेदेखि फोहोर व्यवस्थापनका लागि गरेको प्रयासलाई हेर्दा जोकोही उस्ताहित भएका छन् ।

अहिले बाटोमा खाल्डा खुल्डी पुर्ने काम भइरहेको छ । यो देख्नेहरुका लागि सरप्राइजको विषय हो । जनताले बालेन निर्वाचित भएको परिणाम हो भन्न थालेका छन् । आफू फोहोरमैलाको समस्या समाधान नभएसम्म खादा, माला र अविर नलगाउनेभन्दै मध्यरातीसम्म अफिसमै खटिएर काम गरिरहेका बालेनले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाएर काम थालेका हुन् ।

नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनमा आएपछि काठमाडौंबासीहरु उत्साहित बनेका छन् ।

‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ । काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भने, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’

थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिए । ‘हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उनले भने ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताए । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ ।

काठमाडौंको मुख्य समस्याको रुपमा रहेको सार्वजनिक शौचालय पनि समस्या बालेनको आइडियाले हल हुन थालेको छ । बालेनको प्रस्तावमा महानगरले होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाउने निर्णय गरेको थियो । यो निर्णय पनि आज देखि कार्यान्वयनमा आएको छ ।