अरु तीन जना मन्त्री पनि फिर्ता हुँदै, यी हुन् थपिएका नयाँ मन्त्री

सोमबार, २३ जेष्ठ २०७९

काठमाडौँ – सरकारबाट थप तीन जना मन्त्री पनि फिर्ता हुने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने भएको हो ।

नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको हो ।

अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए ।पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो ।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्। सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, महम्मत इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइन्छ ।

यसअघि एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको थियो । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीमा पठाउने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ । उनीहरुले आजै शपथ लिने तयारी भइरहेको छ ।

दलहरुको मन्त्री फेरबदलको तयारीलाई आगामी संघीय निर्वाचन लक्षित रणनीतिको रुपमा हेरिएको छ । यद्दपी नेपाली काँग्रेस र माओवादी केन्द्रले भने हालका मन्त्रीलाई नै संघीय निर्वाचनसम्म कायमै राखिने बताउँदै आएका छन् ।