उपेन्द्र यादवको एक वचनले जोगियो चार मन्त्रीको पद !
काठमाडौँ – जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको एक वचनले नयाँ मन्त्रीहरुको सपथ रोकिएको छ । यादवका कारण नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँ चार जनालाई पठाउने निर्णय रोकिएको हो ।
सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष माधवकुमार नेपाल आइतबार बालुवाटार पुगेर मन्त्री लिष्ट बुझाउँदै फर्किएका थिए । नेकपा एकीकृत समाजवादीको यो निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद्मा हेरफेर नगर्न सुझाव दिएका थिए । उनको त्यही सुझावले मन्त्रीको चार जना मन्त्रीको पद जोगिएको छ ।
सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए । प्रधानमन्त्री देउवाका नीजि सचिवालयका एक सदस्यले भने, ‘बजेट पारित हुन बाँकी छ, चुनाव नजिक आइसक्यो, नयाँ आर्थिक वर्ष आउन लागेको छ, यस्तो अवस्थामा मन्त्री हेरफेर गरियो भने सबैतिर असर पर्न सक्छ, त्यसैले यसलाई रोक्नुपर्छ भनेर उहाँहरुले प्रधानमन्त्री देउवालाई भन्नुभयो ।’
स्रोतका अनुसार उनीहरुले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ, त्यसको जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने तर्क गरेका थिए ।
मन्त्रीहरुले आआफ्नो गुनासो राखिसकेपछि प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर हुँदैन, तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर बालुवाटारबाट फर्काएका थिए । उनीहरु फर्केर आआफ्नो मन्त्रालय गएर काम गर्न थालेका छन् ।
नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले भने, ‘मन्त्री हेरफेर हुन्छ कि हुँदैन थाहा छैन तर प्रधानमन्त्रीज्यूले तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर पठाउनु भएको छ ।’ आफू मन्त्रालयमा पुगेर नियमित काम गरिरहेको उनले बताए ।