काठमाडौंमा सुरु भयो ‘बालेन युग’, आजैबाट देखिन थाल्यो परिवर्तन

सोमबार, २३ जेष्ठ २०७९

काठमाडौं – काठमाडौँ महानगरपालिकामा बालेन युग सुरु भएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर महानगरपालिकामा विजयी भएका बालेन्द्र शाह (बालेन)ले एकपछि अर्को धमका मच्चाउन थालेपछि धेरैले बालेन युग सुरु भएको बताएका छन् ।

काठमाडौं महानगरपालिकामा मेयर शाहका निर्णयहश्र धमाधम कार्यान्वयनमा आउन थालेका छन् । उनका निर्णयहरु कार्यान्वयनमा आएसँगै केहीले अब काठमाडौंमा बालेन युगको सुरुवात भएको टिप्पणी गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन संकेत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो। संकेत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ।

मेयर बालेन शाहका अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन्। महानगरले आइतबार सार्वजनिक सूचना गरेर उक्त आह्वान गरिसकेको थियो।

महानगरले सार्वजनिक शौचालय चिन्न सजिलो बनाउनका लागि गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो रङले ‘सार्वजनिक शौचालय’ लेखिएको र बीच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह राख्दै संकेत चिन्ह तयार पारेको छ। जसमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ पनि लेखिएको छ।