झलनाथ खनाल र रामचन्द्र पौडेललाई धक्का लाग्नेगरी देउवा र प्रचण्डबीच नयाँ सहमति !
काठमाडौँ – प्रतिनिधिसभाको आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयले गठबन्धनभित्र स्थान पाएको छ । केही छलफलहरुमा असारभित्रै भागवण्डा हुनपर्ने विषयमा कुरा चलेको छ । आगामी राष्ट्रिय राजनीतिको विषयमा कुरा गर्दा माओवादी जता ढल्किन्छ उसैको सरकार बन्ने सम्भावना धेरै छ ।
माओवादी केन्द्रका नेताहरुका अनुसार एमाले अध्यक्ष केपी ओलीमा अहंकार अझै बाँकी रहेकाले एमालेसँग तालमेलको सम्भावना छैन । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाटै भनेका थिए, ‘ओलीको अहंकारमा कुनै कमी आएको छैन । उहाँले गल्ती भयो अब कम्युनिस्टहरु एक भएर जाउँ भन्नुहोला मैले सोचेको थिएँ, तर उहाँमा झन धेरै दम्भ देखियो ।’
चुनावको मिति घोषणा अगावै माओवादीले चुनावपछिको केही विषयमा सुनिश्चितता खोजेको छ । कांग्रेससँग चुनावी तालमेल भए मंसिर पछिको पावर शेयरिङ कसरी होला ? यस विषयमा बुझ्न खोज्दा ओवादीका एक प्रभावशाली नेताले फ्याट्ट चुहाए– ‘प्रचण्ड प्रधानमन्त्री, देउवा राष्ट्रपति ।’
माओवादीका ती नेता गरेको जिकिर एक तहसम्म तथ्य भएको पाइयो । ‘प्रचण्ड र देउवाबीच एक किसिमको सहमति भएको छ । त्यो सहमति बाहिर खुलाइएको छैन् ।’ श्रोतले भन्यो, ‘त्यो भनेको प्रचण्ड ५ बर्ष प्रधानमन्त्री, देउवा ५ बर्ष राष्ट्रपति ।’
तर यो विषयले नेपाली कांग्रेस भित्र भने भुकम्प गएको छ । ‘पक्कै पनि चुनावपछि पावर शेयरिङ हुन्छ र गर्नुपर्छ, तर प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनेर हामी जनतासँग भोट माग्न सक्दैनौं,’ कांग्रेसका एक नेताले भने ।
माओवादी भने चुनावपछिको पहिलो सरकारको नेतृत्व पाउनुपर्ने अडान सहित तालमेल गर्नुपर्ने पक्षमा देखिन्छ । २०७४ सालमै देउवाले ५ वर्षका लागि प्रधानमन्त्री दाबी गरिसकेको अवस्थामा आगामी चुनावपछि सरकारको नेतृत्व दाबी गर्नु राजनीतिक हुने माओवादीको तर्क छ । अध्यक्ष प्रचण्डले २०७६ भदौमा इलाम पुगेर कांग्रेसका तर्फबाट आफूलाई पूरै पाँच वर्ष प्रधानमन्त्री बन्न अफर आएको दाबी गरेका थिए ।
हालै संसदको बैठकमा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरिएपनि जनमतविपरीत हुने भन्दै अस्वीकार गरेको दाबी गरेका थिए । ‘चुनावपछि कसरी जाने भन्ने मोटामोटी सहमति नगरी गठबन्धन बलियो बन्दैन,’ माओवादीका एक नेताले भने, ‘विगतमा आलोपालो प्रधानमन्त्रीको गोप्य सहमति कार्यान्वयन नभएकाले खुला सहमति गरेर जानुपर्छ भन्ने हाम्रो धारणा हो ।’
राजनीतिका चतुर खेलाडी प्रचण्ड ५ वर्षदेखि सरकारको नेतृत्वबाट बाहिर छन् । २०७४ वैशाखमा स्थानीय तहको पहिलो चरणको चुनाव गराएर प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गरेका थिए । त्यसपछि देउवा दोस्रोपटक प्रधानमन्त्री भइसके । केपी ओलीसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेर तेस्रोपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना अधुरै रह्यो । प्रतिनिधि सभाको पहिलो विघटनलगत्तै २०७७ पुस ८ गते नेकपाका बहुमत सांसदको उपस्थितिमा केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको दाबी गरेपछि संसद् भवनको ल्होत्से हलमा प्रचण्डले आफू प्रधानमन्त्री बन्न पहल गर्ने बताएका थिए । त्यो तृष्णा प्रचण्डमा बाँकी नै छ ।
माओवादीका पूर्व स्थायी कमिटीका सदस्य गणेश साह प्रतिनिधि सभा चुनावसम्म यही गठबन्धन कायम रहने विश्वास व्यक्त गर्छन्, तर चुनावअघि नै पावर शेयरिङको विषय टुंगिनेमा उनलाई शंका छ । ‘कहिलेकाहीँ नेतृत्वले सहमति नगर्दै टाउके नेताहरूले बाहिर अनेक प्रचार गर्छन्, अहिले चुनावपछिको पावर शेयरिङबारे त्यस्तो सिरियस कुरा भएजस्तो लाग्दैन,’ साहलेभने ।
प्रतिनिधि सभा चुनावमा तालमेल गर्न र सीटसंख्या बाँड्न भन्दा चुनावपछिको पावर शेयरिङ जटिल रहेको नेताहरू बताउँछन् । अब हुने निर्वाचनपछि सरकार मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षदेखि प्रदेशका सरकार समेत फेरबदल हुन्छन् । २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपति निर्वाचित भएकी विद्या भण्डारीको कार्यकाल चुनावसँगै सकिँदैछ ।
चुनावपछि प्रधानमन्त्री बन्न मात्र होइन राष्ट्रपति पदका आकांक्षी पनि धेरै छन् । २०७४ सालमै झलनाथ खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रयास भएको थियो । त्यो बेला उम्मेदवार बनाउन नसकेपनि नेकपाभित्रको अन्तरसंघर्षका बेला खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्दै प्रचण्ड र माधव नेपालले आश्वासन दिएका थिए ।
पछिल्लो समय गठबन्धनप्रति खनालको तीव्र असन्तुष्टि देखिन्छ । शनिवार बसेको नेकपा एसको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दा खनालले चुनावमा इमान्दारीपूर्वक तालमेल नभएको प्रतिक्रिया दिएका थिए ।
अहिलेको गठबन्धन कायम रहेमा राष्ट्रपतिको रेसमा खनाल पछि पर्ने खतरा छ । त्यसैले उनी वामपन्थी गठबन्धनको पक्षमा उभिएका छन् । चुनावलगत्तै एक टेलिभिजन अन्तर्वार्तामा खनालले आवश्यक परे केपी ओलीसँग पनि तालमेल गर्नुपर्ने बताएका थिए ।
राष्ट्रपतिका लागि आश्वासन पाएका अर्का नेता रामचन्द्र पौडेल पनि हुन् । प्रधानमन्त्री बन्न संसद्मा १७ पटकसम्म प्रयास गरेका पौडेल अहिले पार्टीको कार्यकारी पदमा छैनन् । उनी सरकार सञ्चालनका लागि बनाइएको उच्चस्तरीय संयन्त्रको संयोजक छन् ।
विगतमा संस्थापनइतर पक्षको नेतृत्व गरेका रामचन्द्र पौडेल पछिल्लो समय देउवाको दाहिना भएर हिँडेका छन् । संस्थापनइतरबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्न नसकेपछि नै पौडेलले प्रत्यक्ष÷परोक्ष ढंगले देउवालाई सहयोग गर्दै आएका छन् ।
गठबन्धनले गरेका चुनावी सभामा पनि पौडेलले चुनावी तालमेलको बचाउ गरेका थिए । २३ सीटमा सीमित बनेको कांग्रेसलाई ९३ सीटमा पुर्याउन गठबन्धन जरुरी रहेको भन्दै पौडेलले गठबन्धनको बचाउ गर्दै आएका थिए ।
पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पौडेललाई राष्ट्रपतिको आश्वासन दिएको चर्चा कांग्रेस वृत्तमा छ । अहिलेसम्म भावी राष्ट्रपतिको आश्वासन खनाल र पौडेलले पाएका छन् । देउवा र प्रचण्डले भनेअनुसार सहमति भएको हो भने दुबै नेताको राष्ट्रपति बन्ने सपना चकनाचुर हुनेछ भने देश नयाँ सिरावाट अगाडी बढ्ने छ ।