एमाले अध्यक्ष ओलीले पो गरेका रहेछन् गम्भीर राष्ट्रघाट, आर्मीको पत्रबाट खुल्यो रहस्य

बिहिबार, २ असार २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को गम्भीर राष्ट्रघात गरेको खुलासा भएको छ । पछिल्लो समय निकै चर्चामा रहेको स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन ओलीकै पालामा पत्राचार भएको खुलेको छ ।

नेपाली सेनाले नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई पत्राचार गर्दै एसपीपी कार्यक्रम स्थापना गर्न आग्रह गरेको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पत्राचार गर्दा एमाले अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री थिए । संविधान निर्माणलगत्तै ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री भएको २ हप्तामै अर्थात कार्तिक १० सेनाले पत्राचार गरेको देखिन्छ ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ । नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो ।