बालेनले ‘नुनको सोझो’ गर्दा काठमाडौंमा खुशीयाली

शुक्रबार, १० असार २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमा सम्पदा संरक्षण र निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

बजेट प्रस्तु्त गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो प्राथमिकतामा काठमाडौंका परम्परागत हिति (ढुंगेधारा) हरू पुनर्स्थापना गर्ने बताइन् । जुन ठाउँमा पहिलेजस्तै प्राकृतिक रूपले पानी खसाल्न सकिन्छ, त्यहाँ त्यसैअनुरूप हिति पुनर्स्थापना गरेर पानी आपूर्ति गर्ने महानगरको कार्यक्रम छ।

पानी आपूर्ति हुन नसक्ने हितिलाई पनि काठमाडौंको कला र संस्कृति प्रवर्द्धनको निम्ति पुनर्स्थापना गरिनेछ।काठमाडौंका परम्परागत मठ–मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा स्थलहरूको संरक्षणलाई महानगरले प्राथमिक कार्यक्रमको सूचीमा राखेको छ।

यसबाहेक काठमाडौं महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि छन्।

सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, फोहोरमैलालाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरूमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने, विभिन्न ठाउँमा दमकल स्टेसनहरू राख्ने, ज्येष्ठ नागरिकहरूका निम्ति घरघरमा स्वास्थ्य परीक्षणको सुविधा दिने, खेलकुद स्थलहरू निर्माण गर्ने लगायत कार्यक्रमलाई महानगरले प्राथमिकता दिएको छ।

महिला स्वरोजगार, शारीरिक अपांगता भएका नागरिकको स्वरोजगार, हरेक वडामा कम्तीमा एउटा विद्युतीय पुस्तकालय, लोकबाजा संग्रहालयको प्रवर्द्धन लगायत कार्यक्रम पनि महानगरको बजेटमा परेको छ।

काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि (इन्द्रजात्रा) लाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रियकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ।

यी सबै कार्यक्रमहरु मेयरमा निर्वाचित बालेन्द्र शाहले नुनको सोझो गरेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाच पश्चात बालेनले अर्को निर्वाचनको तयारी थालेका थिए । त्यसपछि उनले काठमाडौँका रैथाने गुठियारसँग राम्रो सम्बन्ध विस्तार गरेका थिए ।

भर्खरै सम्पन्न निर्वाचन अघि बालेनले ठुठियारको समस्या समाधान गरिदिने वचन दिएका थिए । अहिले बजेटमार्फत उनीहरुका मागहरु सम्बोधन गरिदिएका छन् । योजना पारेपछि बालेनलाई जिताएकोमा खुशी व्यक्त गर्दै काठमाडौँका गुठियारले धन्यवाद दिएका छन् ।