अखिल क्रान्तिकारीले महासचिवमा ललित विकलाई नियुक्त गर्दै, गर्यो यस्तो ऐतिहासिक निर्णय

सोमबार, १३ असार २०७९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक रिक्त पदमा पदपूर्तिसहित विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

संगठले आज रिपार्टस क्लबमा पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा असार ११, १२ र १३ गते बसेको बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । राजनैतिक वैचारिक विचलनका कारण रिक्त पद रहेको संगठनको महासचिवमा ललित विक, सचिवमा प्रकाश जप्रेल र कोषाध्यक्षमा प्रितिमा चौधरीलाई निर्वाचित गरेको उक्त संगठले जानकारी गराएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, संगठनका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकाल लगायतको आतिथ्यतामा बसेको बैठकले शैक्षिक क्षेत्रमा भइरहेको लुटपाट, विकृति, विसंगति र माफियाका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आफ्नो संगठनले मुल्यबृद्धि, महङ्गी, भ्रष्टाचार, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौताका विरुद्ध निर्णायक संघर्ष गर्ने लगायतका निर्णय गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र विक, नवनिर्वाचित महासचिव ललित विक, सचिव प्रकाश जप्रेल र कोषाध्यक्ष प्रितिमा चौधरीले पनि बोलेका थिए ।