माधव नेपालकाे प्रेसर बढ्नेगरी कांग्रेस माओवादीले खेले नयाँ खेल
हेटौंडा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे प्रेसर बढ्नेगरी नेपाली कांग्रेसका र नेकपा माओवादीका केन्र्दले नयाँ खेल सुरु गरेका छन । बागमती प्रदेशमा कांग्रेस र माओवादीले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु गरेपछि नेपालकाे प्रेसर बढेकाे हाे ।
सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन बिहीबार सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताइन् ।
‘दलका नेताबाट मुख्यमन्त्री परिवर्तनको कुरा छ हस्ताक्षर गर्न भनेपछि हामी सबैले हस्ताक्षर गरेर दलको कार्यालयमा बुझाएका छौं ।’ प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको सांसद अधिकारीले बताइन् ।
पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने गरी भएको तीन दलबीचको सहमति केही समयअघि सार्वजनिक भएको थियो ।