मुद्दा हारेपछि संकटमा विश्वराज, श्रीमतीको समेत साथ पाएनन्

शनिबार, ३२ असार २०७९

काठमाडौँ – नेपाल प्रहरीको सर्वोच्च निकाय आईजीपीमा आफ्नो दाविसहित सर्वोच्च अदालत गएका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल मुद्धा हारेपछि संकटमा छन् । आईजीपी धीरजप्रताप सिंहलाई स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने विषयले उनलाई संकट आईलागेको हो ।

शुक्रबार आएको फैसलापछि विछिप्त बनेका पोखेललाई सम्झाउने नजिकको मान्छे समेत साथमा छैनन् । उनी श्रीमती काम विशेषले बाहिर रहेकाले संकटमा श्रीमतीको समेत साथ पाएका छैनन् । आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको बताउने गरेका छन् । ‘श्रीमती पनि बाहिर भएकाले उनी फर्किएपछि आपसी सल्लाह गरेर आइतबार वा सोमबारसम्मका उपयुक्त निर्णय लिनेछु’, उनले भनेका छन् ।

‘श्रीमती पनि बाहिर गएको छ । म आइतबार सोमबारसम्ममा सल्लाह गरेर निर्णय लिन्छु’, उनले भने, ‘काममा फर्किन पनि सक्छु । तर, काममा फर्किने कि राजीनामा दिने भन्नेमा एकिन भने भएको छैन । सल्लाह गरेर निर्णय लिन्छु ।’

उनले सर्वोच्च अदालतको फैसलामा आफनो केही पनि प्रतिक्रिया नरहेको बताए । शुक्रबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको थियो ।

मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू सतिशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहाल, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पोखरेलले आफू आईजीपी हुन नपाएपछि लामो बिदा लिएका थिए भने बिदा सकिएपछि पनि उनले पुनः बिदा स्वीकृत गराउन चाहेका थिए । तर, उनको बिदा स्वीकृति भएको थिएन । बिदा स्वीकृत नभएपनि उनी कार्यालय भने गएका थिएनन् ।