मोदीले किन भेटेनन् प्रचण्ड ? यस्ता रहेछन् दुई कारण
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको भएपनि अन्तिम समयमा आएर स्थगित भयो । प्रचण्डले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिएपछि भित्री रुपमा दुई कारण रहेको खुलासा भएको छ ।
त्यसमध्ये एक हो भारतमा गइरहेको अत्यधीक बाढी र अर्को हो शनिबार सार्वजनिक मन्चबाट प्रचण्डले दिएको अभिव्यक्ति । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए ।
‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनको भनाइ छ ।’
तर भारतमा केही दिनयता आएको विनाशकारी बाढीका कारण मोदीसँग भेट हुन नसकेको हो । ‘हिजो बाढीले भारतमा धेरै ठूलो क्षति गरेको सुनेका छौँ। मोदीजी त्यसतिर केन्द्रित भएकाले पनि भेटको अवसर नमिलेको हुन सक्ने’, उनले भने ।
‘म त भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा गएको हो। सबै कुरा उहाँसँगै भइसकेकै थियो।’ उनले भने । उनले आफूले लिएर गएका एजेन्डा अनुसार भन्नुपर्ने र गर्नुपर्ने पर्याप्त कुरा भएको बताए।
दाहालले नेपालले भोगिरहेको समस्या समाधान गर्न भारतलाई अब सहज हुने पनि तर्क गरे। ‘डुबान, सीमा समस्या, इपिजी प्रतिवेदनमा सकारात्मक परिणाम आउला भन्ने अपेक्षा गरेको छु’, उनले भनेका छन् । प्रचण्डले शनिबार भारतसँग भएका असमान सन्धिहरुको पुनरावलोकन गर्ने बताएपछि मोटी चिढिएको कुटनीतिक क्षेत्रका जानकारहरुको भनाई छ ।