सीसीटीभी काण्ड : पत्रकारले दिएकाे जवाफ पछि रन्थनियाे छानबिन समिति
काठमाडौं- करका दर हेरफेरमा अनाधिकृत व्यक्तिकाे संलग्नता बारे छानविन गर्न गठित संसदीय विशेष समितिले पत्रकारद्वयसंग साधपुछ गरेकाे छ । पहिलो पटक समाचार लेख्ने पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घण्टा साेधपुछ गरेकाे हाे ।
समिति सदस्यहरूको प्रश्नमा दुवै पत्रकारले आफूहरू समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरूले समाचारको स्रोत नखोल्ने बताएका छन् ।
‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।
समितिका सदस्यहरूले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने दिएनन् । उनीहरू आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर सोधेका थिए । पत्रकारहरूले त्यस्तो महसुस नगरेको बताए ।
बयानपश्चात् पत्रकार थापाले आफूहरूसँग समाचार स्रोतका अलावा अर्थमन्त्रीविरुद्ध अन्य प्रमाणहरू पनि भएको बताइन् ।
‘जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ भएको यथेष्ट प्रमाण पाएपछि नै समाचार लेखेका हौं । तर, प्रमाण सार्वजनिक गर्न मिल्दैन’, उनले भनिन् । समितिलाई पनि यही भनेको थापाले बताइन् ।
काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्टमा पहिलो पटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार प्रकाशित भएको थियो । सोही समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । अन्नपूर्ण पोष्टले अहिलेसम्म समाचार पुष्टि हुने कुनै प्रमाण भने सार्वजनिक गरेको छैन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा