एमालेको चुनाव चिन्ह ‘सूर्य’ माथि लाग्यो ग्रहण, सर्वोच्च अदालतबाट आयो यस्तो आदेश
काठमाडौं – सर्वोच्च अदालतको एउटा आदेशले नेकपा एमालेले प्रयोग गर्दै आएको चुनाव चिन्ह सूर्य पनि नरहने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले माग गरेको गाई चुनाव चिन्ह कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी भएपछि एमालेको सूर्य पनि नरहने भएको हो ।
सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै गाई चिन्ह कसैलाई पनि नदिन निर्वाचन आयोगमा नाममा अन्तरिम आदेश जारी गरेको हो ।
गाई राष्ट्रिय जनावर भएकाले चुनाव चिन्ह् दिन नमिल्ने गरी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चिन्ह् माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले गाई चुनाव चिन्ह दिन नमिल्ने पत्र लेखेपछि सर्वोच्चमा रिट दिएको थियो ।
सर्वोच्चले एक हप्ताभित्र पूर्ण सुनुवाईमा पेश गर्न समेत आदेश दिएको छ । निर्वाचन आयोगले २ माघ २०७८ मा पत्र लेख्दै राजेन्द्र लिंदेनको राप्रपालाई गाई चिन्ह हटाउन भनेको थियो । राप्रपाले हलो चिन्ह लिइसकेको छ ।
राप्रपालाई लेखेको पत्रमा, ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ निर्णयबारे उल्लेख गरेको थियो ।
यसको असर एमालेको चुनाव चिन्ह सूर्यमा पनि पर्नसक्ने देखिएको छ । सर्वोच्चको फैसलाले एमालेको सूर्य चिन्ह रहने या नरहने भन्नेमा पनि असर गर्न सक्छ । गाई चिन्हबारे निर्णयको नजिर सूर्य चिन्हमा पनि लागू हुनसक्छ । किनभने निर्वाचन आयोगले गरेको निर्णयबमोजिम नेपालको पहिचान बोकेको चिन्ह कुनैपनि दलको चुनाव चिन्ह हुनसक्दैन र सूर्य राष्ट्रिय झण्डामा अंकित छ ।
सर्वोच्चले गाई चिन्ह दिन नमिल्ने गरी पूर्ण सुनुवाईपछि फैसला गर्दा सूर्य चिन्हमा पनि असर पर्न सक्छ । नेपालको झण्डामा सूर्य र चन्द्रमा अंकित छ ।