गृहमन्त्रालयको सर्वेक्षणः एमाले–माओवादी मिल्दा १४५ सिट जित्ने, कांग्रेस माओवादी मिल्दा के हुन्छ ?

मंगलबार, १० साउन २०७९

काठमाडौं – आगामी संघीय संसद्को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी मिल्दा देशभरबाट प्रत्यक्षमा १ सय ४५ सिट जित्ने गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । चुनावको मिति घोषणा हुनुपूर्व मन्त्रालयले गरेको आन्तरिक सर्वेक्षणमा दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा प्रत्यक्षमा १ सय ६५ मा १ सय ४५ सिज जित्ने देखिएको हो ।

त्यस्तै कांग्रेस र माओवादी मिल्दा देशभरबाट १०९ सिट जित्ने गृह मन्त्रालयले दुई महिना लगाएर गरेको तथ्यांकमा उल्लेख छ । उक्त तथ्याङ्कका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ ।

एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ ।

सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्यांकले देखाएको छ । एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्यांकले देखाएको छ ।