सर्वाधिक खोजीको सूचीमा रहेका एम अधिकारी भेटिए !
काठमाडौँ – प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारी भेटिएको बताएका छन् ।
संसदको शून्य समयमा बोल्दै महतले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण सहित भेटिएको बताएका हुन् ।
संसदमा सशक्त आवाज उठ्दा पनि एम अधिकारीको परिवार, पार्टी र संसदले समेत खोजतलास नगरेपछि आफूले खोजेर पहिचान गरेको उनले बताए । ‘यो सदनले नखोजे पनि एउटा सांसदको नाताले मैले त खोज्नै पर्यो भनेर म खोज्न रातदिन लागे । मैले प्रमाण पनि भेटाएँ, ‘ उनले भने ।
सांसद महतले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा (ढुकटी) को अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरे ।