देउवाले कहिले गर्दैछन् जनार्दनको पुनः नियुक्ती ? बालुवाटारबाट चुहियो गोप्य सूचना

शनिबार, १४ साउन २०७९

काठमाडौं – बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई फेरी अर्थमन्त्रालयमा फर्काउने तयारी भएको छ । संसदीय विशेष छानविन समितिले उनको संलग्नता पुष्टि नभएको पाइएपछि उनलाई फेरी अर्थमन्त्रालमै नियुक्ती गर्न लागिएको हो ।

असार २२ गते पदबाट राजीनामा दिएका शर्मालाई प्रधानमन्त्री स्वयं समेत रुचाएकाले छिट्टै पुनरनियुक्ती हुने बालुवाटार श्रोतको भनाई छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

प्रधानमन्त्री निकट एक कांग्रेस नेताले भने, ‘बालुवाटारले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै रुचाएको छ । काम गर्न सजिलो मान्छे भन्ने परेको छ । नीतिगत निर्णयमा अरुभन्दा जनार्दन शर्माले नडराई काम गर्ने गरेका कारण बालुवाटारले उनलाई रुचाएको हो ।’

स्रोतका अनुसार संसदीय छानविन समितिमा रहेका सत्तापक्षका सांसदहरुलाई अर्थमन्त्रीलाई दोषी साबित नगर्न ह्वीप लगाइएपछि अहिलेको जस्तो असहमतिको रिपोर्ट आउने निश्चित भइसकेको थियो । समितिले प्रतिवेदन बनाउनुभन्दा अघि शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर आफू दुई दिन भनेपनि अर्थमन्त्रालय फर्किने बताएका थिए ।

स्रोतले भन्यो, ‘दुई चार दिनमात्र भने पनि अर्थमन्त्रालय फर्किएर बरु त्यसपछि राजीनामा गर्छु । तर छानविनबाट निर्दोष साबित भएर मन्त्रालय फर्किन पाउनुपर्छ भनेर उहाँले अध्यक्षलाई भनेको सुनियो । सायद पिएम र सिएमबीच कुरा भइसकेको होला ।’

शर्मालाई आइतबार वा सोमबारसम्म अर्थमन्त्रीमा पुनः समथग्रहण गराउने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् । शर्माले चाहेमा अब अर्थमन्त्री बन्नका लागि बाटो खुलेको माओवादीकै नेता वर्षमान पुनले शुक्रबार नै संसद भवनमा बताएका थिए ।