अर्थमन्त्री पछि जनार्दनलाई अर्को सरप्राइज दिदै प्रचण्ड !

आइतबार, १५ साउन २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाएका छन् । करका दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न गराएको र बजेर निमार्णको दिन सीसीटीभी फुटेज डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई प्रचण्डले पुनः अर्थमन्त्रीमा सिफारिस गरेका हुन् ।

जनार्दन अर्थमा फर्किएसँगै प्रचण्डले अर्को सरप्राइज दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको महासचिव बनाउने तयारी थालेको हल्ला चलेको छ । महासचिवका दाबेदारमध्ये एक जनार्दनले आइतवार अर्थमन्त्रीको शपथ लिन लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य पात्रबारे छलफल थालेका छन्।

माओवादीको पुसमा भएको आठौं महाधिवेशनदेखि महासचिवको चर्चामा थिए जनार्दन र वर्षमान पुन। तर, प्रचण्डले अब यी दुवै नेतालाई नदिएर महासचिवका लागि तेस्रो पात्र खोज्न थालेका छन्। जनार्दन र वर्षमानसँगै महासचिवमा पम्फा भुसाल, शक्ति बस्नेत र देव गुरुङको नाम पनि अहिले चर्चामा छ।

यीमध्ये महासचिवको पात्र एकिन गर्न नसक्दा प्रचण्डले अहिलेसम्म पदाधिकारीको टुंगो लगाउन सकेका छैनन्।गत १८, १९ र २३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरोसहित पदाधिकारीसमेत टुंग्याउने अपेक्षा धेरैको थियो।

तर, ‘सबैको अनुहार उज्यालो’ बनाउनेगरी पदाधिकारीको नाम ल्याउने भन्दै प्रचण्डले दुई÷चार दिनको समय माग गरेका थिए। केन्द्रीय कमिटी बैठकपछि सेलाएको पदाधिकारी चयनबारेको चर्चा आइतबार शर्मालाई अर्थमन्त्रीमै फर्काउने निर्णयपछि सुरु भएको छ।

कतिपयले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गराएर पुनलाई महासचिव बनाउन लागेको चर्चा गरेका छन्। तर, शर्मा र पुन दुवैलाई महासचिवको दौडबाट हटाएर चर्चामा नभएका नामबाट महासचिव छान्ने तयारीमा प्रचण्ड रहेको उनीनिकट नेताहरु बताउँछन्। ‘यसपटक अध्यक्षले महासचिव चयन गर्दा ‘सरप्राइज’ दिनेगरी तयारी बढाउनुभएको छ,’ माओवादीका एक नेता भन्छन्।

केही दिनअघि नेपालखबरसँगको अनौपचारिक कुराकानीका क्रममा माओवादीकै अर्का एक स्थायी कमिटी सदस्यले प्रचण्डले ‘आँट’ नगरी पदाधिकारी चयन नटुंगिने बताएका थिए।

महासचिवसहितका पदाधिकारीबारे चर्चा हुने भनिएको आइतबारको स्थायी कमिटी बैठक पनि अन्तिम समयमा स्थगित भएको छ। अर्को बैठकबारे कुनै जानकारी दिइएको छैन्। ‘बैठक किन एक्कासी स्थगित भयो थाहा छैन्,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, ‘हामीलाई स्थगित भएको म्यासेजमात्रै आएको छ।’

बजेट निर्माणका क्रममा विचौलिया प्रयोग गरेको आरोपले विवादको घेरामा परेका अर्थमन्त्री शर्मालाई संसदीय समितिले सफाइ दिइसकेको छ। यस्तोमा फेरि उनैलाई फिर्ता बोलाउनु र आइतवारै डाकिएको बैठक अन्तिम समयमा स्थगित गर्नुले प्रचण्ड अब पदाधिकारी पनि टुंग्याउनेगरी तयारीमा लागेको संकेत मिलेको छ।

अर्थमन्त्रीको सपथ र निर्वाचनको मिति घोषणासँगै पार्टी पदाधिकारीको लफडा पनि मिलाउने प्रचण्डको चाहना भएको सचिवालयका एक सदस्यले बताएका छन्। उनले आइतबार (१५ साउन) बिहान खुमलटारमा भेला भएका स्थायी कमिटी नेताहरुलाई पनि एक दुई दिनमै पदाधिकारी टुंग्याउने आश्वासन दिएका थिए।