सरकारले गर्यो अर्थसचिव मरासिनीलाई कारबाही !

बिहिबार, १९ साउन २०७९

काठमाडौं – सरकारले अर्थसचिव मधुकमार मरासिनीलाई कारबाही गरेको छ । अर्थ मन्त्रालयमा रहेर बजेटमा खेल्दै बसेका मरासिनीलाई सरकारले कारवाही गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भूमिका विहिन बनाएर अप्रत्यक्ष रुपमा कारबाही गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर परिवर्तन गराएको भन्दै मिडियामा सूचना बेचेको उनीमाथि आरोप लागेको थियो । त्यही विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको थियो ।

उक्त समितिले शर्मालाई निर्दोष सावित गरेपछि फेरी अर्थमा फर्किएका थिए । शर्मा अर्थमा फर्किएको दिनदेखि मरासिनी मन्त्रालय गएका थिएनन् । उनले आफू अर्थमन्त्री शर्मासँग काम गर्न नसक्ने भन्दै अर्को मन्त्रालयमा सरुवा मागेका थिए । तर आजको मन्त्रीपरिषदको बैठकले उनलाई भूमिका विहिन बनाएर प्रधानमन्त्री कार्यालयमा पठाएको हो । प्रधानमन्त्री कार्यालयमा ७ जना सचिव कार्यरत छन् ।

एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मरासिनीको ठाउँमा राजश्व सचिव कृष्णहरी पुस्करलाई जिम्मेवारी दिएको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेललाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।