देउवाले कांग्रेसको अस्थित्व नामेट पारेको भन्दै गोविन्दराज जोशीले सुरु गरे नयाँ अभियान, बालुवाटारमा खैलाबैला

आइतबार, २२ साउन २०७९

काठमाडौं – पूर्वमन्त्री गोविन्दराज जोशीले नयाँ अभियान सुरु गरेका छन् । जोशीले ‘कांग्रेस स्वतन्त्र अभियान’ नामको कांग्रेस हराउ अभियान सुरु गरेका हुन् ।

उनी सोही अभियानमार्फत तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा पौडेड विरुद्ध चुनाव लड्ने उनको तयारी छ ।

गत निर्वाचनमा जोशीले वागी उम्मेवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो । जोशीले कांग्रेसले पाखा पारेका सबै नेता–कार्यकर्तालाई ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान गरे ।

सत्ता गठबन्धनको विरोध गर्दै उनलले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कांग्रेस सिध्याउन खोजेको आरोप लगाए । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भने, ‘कांग्रेस अब कांग्रेस रहेन ।’

उनले आगामी चुनाव जित्नेमा ढुक्क रहेकोसमेत बताए । ‘स्थानीय तहको चुनावमा पाएको मतले पनि हामीले चुनाव जित्न गाह्रो नभएको देखिन्छ, चुनाव जित्नेमा ढुक्क छु,’ जोशीले भने ।

गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । तर उनी कांग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।