निहारिकालाई भेटेपछि सरकार बिरुद्ध खनिए बालेन, देउवालाई गरे कडा प्रश्न

शनिबार, २८ साउन २०७९

काठमाडौं – महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित महिला निहारिका राजपुतलाई भेटेपछि देउवा  सरकार बिरुद्ध एकाएक खनिएका छन्।

शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई शाहले भेटेपछि सामाजिक सञ्जालमा तस्बिर  सार्वजनिक गर्दै निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै शाहले देउवा सरकारलाई कडा प्रश्न गरेका हुन् ।

आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?‘ यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’शाहले पिडित संगको भेटमा  सरकारलाई भनेका छन् ।

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन । बसन्तपुरमा अनसन बस्दै आएकी उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

पछि प्रहरीले उनको उद्धार गरी शिक्षण अस्पताल पुर्याएको थियो।

आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्।

यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो।