कम्पनीमा रुपान्तरण हुँदै राष्ट्रिय बीमा संस्थान, कहिले आउँछ आईपीओ ?
काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण हुने भएको छ । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै संस्थान कम्पनीमा रुपान्तरण हुने भएको हो ।
राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ । आइतबारको प्रतिनिधिसभा बैंठकले बीमा विधेयक–२०७९ बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ ।
संसदबाट पास भएको ऐनमा राष्ट्रिय बीमा संस्थानलाई कम्पनीको रुपमा रुपान्तरण गर्ने भनिएको छ । एनको दफा ३ को उपदफा (क) मा भनिएको छ, ‘राष्ट्रिय बीमा संस्थानलाई १ बर्षमा पब्लिक लिमिटेड कम्पनीका परिणत गरिने छ ।’
हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये सबै कम्पनी बीमा ऐन–२०४९ अनुसार सञ्चालन भए पनि राष्ट्रिय बीमा संस्थान भने राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ अनुसार सञ्चालनमा रहेको थियो । पारित भएको बीमा विधेयकसँगै प्रमाणीकरण भएर कार्यान्वयनमा आए बीमा ऐन–२०४९ र राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुनेछ ।
२०२४ पौष १ गते प्राइभेट कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो । पछि ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ बनेपछि सोही ऐन अन्तरगत २०२५ साल पौष १ गते संस्थानको रुपमा परिणत भएको थियो । सुरुमा निर्जीवन बीमा गर्दै आएको संस्थानले २०२९ साल फागुन ७ गतेबाट जीवन बीमा पनि गर्न सुरु गरेको थियो । राष्ट्रिय बीमा संस्थान भएपनि भित्र दुई शाखाका रुपमा जीवन बीमा र निर्जीवन बीमा शाखा भएर काम गरिरहेका थिए । पछि बीमा समितिले एउटै संस्थान वा कम्पनीले जीवन बीमा र निर्जीवन बीमा गर्न नहुने प्रावधान ल्याएपछि यी दुई शाखा विधिवत रुपमा २०७१ सालमा अलग भएका थिए ।
जीवन बीमा गर्ने कम्पनीको नाम राष्ट्रिय बीमा संस्थान रह्यो भने निर्जीवन बीमा गर्ने कम्पनीको नाम राष्ट्रिय बीमा कम्पनी लि रह्यो । पब्लिक लिमिटेड कम्पनी भएर साधारण शेयर जारी गरेर दोश्रो बजारमा लिस्टिङ भइसकेको कम्पनी अलग भएपछि विभिन्न खालका समस्यहरु देखिन थाले । त्यही समस्याका कारण अहिलेसम्म दुबै कम्पनी सहि ट्याकमा आउन सकेका छैनन् । राष्ट्रिय बीमा संस्थानले त स्थापना भएदेखि आजसम्म बार्षिक साधारण सभासमेत गरेको छैन ।
राष्ट्रिय बीमा संस्थानले एक बर्षमा संस्थान पव्लिक लिमिटेड कम्पनीका रुपमा परिणत हुने जनाएको छ । कम्पनीका प्रमुख प्रशासक कविराज पाठकले एक बर्षभित्रमा संस्थान कम्पनीमा रुपान्तरण हुने बताए । ‘अहिले आईपीओको कुरा खासै चर्चामा नल्याउँ । पहिला हामी संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा रुपमान्तरण गछौँ ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा पाठकले भने, ‘त्यसपपछि कम्पनी ऐन अनुसार आईपीओ जारी गरौँला ।’
कम्पनी ऐन २०६३ अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा साधारण शेयर जारी गर्नुपर्ने कानुनी प्रवधान छ । कम्पनी ऐन २०६३ को परिच्छेद २ को दफा १२ मा भनिएको छ, ‘बैङ्किग कारोबार, वित्तीय कारोबार, बिमा व्यवसाय सम्बन्धी कारोबार, धितोपत्र बजार सम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्युच्युअल फण्ड) सञ्चालन गर्ने कम्पनी, पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिए बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा संस्थापना हुनु पर्नेछ । हाल दर्ता भएका कम्पनीहरुले दुई वर्षभित्र यस दफा बमोजिम पव्लिक कम्पनीमा परिणत भइसक्नु पर्नेछ ।’