पत्रकारलाई यसरि पाठ पढाए प्रमुख आयुक्त थपलियाले
काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पत्रकारहरुलाई निर्वाचनको बारेमा पाठ पढाएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) ले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्ने पाठ पढाएका हुन्।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ रासस लगाएत पत्रकारहरुले योगदान दिने विश्वास समेत व्यक्त गरे ।
“विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैङ्कका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन ।” राससका व्यवस्थापक, सम्पादक र समाचारदाता सहभागी कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियाँलेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो । देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाइँहरु लाग्नुहोला ।”
स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वतः अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।
नेपाल सरकारका पूर्वसचिवसमेत रहेका प्रमुख आयुक्त थपलियाले भने, “जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो । यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो । मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ ।”