दलहरुको मत विभेदका कारण नामाकरण टुंगिन सकेनः प्रदेश सभामुख

बुधबार, १ भाद्र २०७९

काठमाडौ—ंप्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्युन रहेको बताउनुभएको छ ।

उनले पार्टीहरुका आफना–आफना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए । उनले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा छलफल गराएपनि त्यो सहमति बन्न नसकेको बताए । प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरुमा पनि भुगोल, जातियता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्कने खालका नाममा आफनो अडान राख्दा सहमति जुटन नसकेको दाबी गरे । उहाँले प्रदेशको नामाकरणका लागि दलहरुको सहमति नै आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामाकरण गर्न नमिल्ने बताए । उनले प्रदेशको नाममा सहमति बनाउन दुई तिहाई सांसदहरुको सहमति हुनुपर्ने बताए । उनले कार्यकाल सकिन लाग्दा समेत प्रदेशको नामाकरण गर्न नसकेकोप्रति दुःख लागेको बताए । सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएअनुसार नामाकरणको लागि अहिले कुनै प्रक्रिया अघि नबढाएको बताए।

उनले भन्नुभयो, ‘पार्टीको आफनो आफनो धारणा हुन्छ, आफनो आफनो सोचको कारण पनि सहमति हुन सकेको छैन । जसकारण पनि प्रदेशको नामाकरण हुन सकेको छैन । धेरै नेताहरुको केन्द्रिकृत भावनाले पनि यहाँ असर गरेको छ । त्यो कारणले पनि सहमति हुन सकेन । किनभने दलहरुका आफना आफना अडान छन । कसैले भुगोलका नाममा, कसैले प्राकृतिक, सांस्कृतिक पहिचानका नाममा भन्ने अडानलाई यथास्थितिमा राखेका कारण पनि सहमति हुन सकेन । धेरै प्रयत्न गरियो । दलका नेताहरुलाई बोलाउने, दलहरुबीचमा छलफल गर्ने, दल,दलको बीचमा पनि छलफल गराउने, ती कार्यक्रमहरु संसदले गरेको थियो । दलहरुले पनि केही प्रयासहरु गरे, तर सहमति हुन सकेन । नाम राख्न सकिएन । नाम राख्नका लागि सहमति नै आवश्यक छ । कुनै दलले चाहेर मात्रै हुने कुरा होइन, धेरै दलहरुको बीचमा सहमति हुनुपर्छ । दुई तिहाई पुग्नलाई । त्यो पुग्नसक्ने अवस्था सहमतिका साथ नदेखिएको हुनाले प्रक्रिया अघि बढाउन पनि सकिएको छैन । यो दुःखकै अनुभुति भएको छ । कानून बनाउने कुरामा सन्तुष्टि नै मिलेको छ । समितिले पनि क्रियाशीलताको साथ सरकारलाई खबरदारी गरेका छन । प्रक्रियामा ल्याउनका लागि ल्याउँदा ल्याउनुमात्रै हुन्छ । मैले सर्वदलीय बैठक बोलाएको छु । सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएको छ । त्यसकारण पनि त्यो प्रक्रिया अघि बढाउने कुरा भएन । सहमति बेगर प्रक्रिया अघि बढाउँदा परिणाम निस्किँदैन । किनभने गणपूरक संख्या पुग्दैन । यही संसदले नामाकरण गर्नसक्ने कुरा घटेर गएको छ ।’

सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेश सभाको कार्यकाल सकिँदा टुङ्गिने सम्भावना लगभग सकिएको छ । प्रदेशसभाको कार्यकाल करिव तीन महिना मात्र बाँकी छ । पछिल्लो समय नामाकरणको विषयमा दलहरुबीच सम्वादविहीनताको अवस्था छ । प्रदेशको नामकरणका लागि आधा दर्जनभन्दा धेरै नाम पहिचान र भुगोलसँग जोडिएर चर्चामा आएका थिए । तर ती नाममध्ये कुन नाम राख्ने भनेर प्रदेशसभा बैठकमा प्रवेशसमेत पाएको छैन । प्रदेशसभा गठन भएपछि तीन जना मुख्यमन्त्रीले नेतृत्व गरिसकेका छन । पहिलोपटक एमालेबाट शेरधन राई, दोस्रोमा पुनः एमालेबाट भीमप्रसाद आचार्य र तेस्रोमा राजेन्द्र राईले प्रदेश १ को नेतृत्व गरेका छन । तीनै जना मुख्यमन्त्रीले प्रदेश– १ को नामकरण गर्ने भन्दै पदभार सम्हालेका थिए ।