माओवादी केन्द्र र एकीकृत समाजवादीको कुरा मिल्यो

सोमबार, ६ भाद्र २०७९

काठमाडौँ – माओवादी र एकीकृत समाजवादीको कुरा मिलेको छ ।  आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएपछी दुइ पार्टीको बिचमा कुरा मिलेको हो।

हात्तीवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएको हो ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एसका महासचिव बेदुराम भुसाल पनि सहभागी भएका थिए । छलफलले दुई पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने र पार्टी एकिकरण प्रक्रियालाई पूर्णता दिने सहमतिसमेत गरेको नेताहरूले जनाएका छन् ।

बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी निर्वाचन एउटै घोषणापत्र लिएर लड्ने सहमति भएको प्रतिक्रिया दिएका छन् ।

यी दुई पार्टीबीच एकताको गृहकार्य चलिरहेको छ । त्यसक्रममा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकता समायोजन समिति बनाउने निर्णय समेत गरिसकेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि हालै भएको स्थायी समिति बैठकमा एससँग पार्टी एकताको प्रक्रियाअघि बढिरहेको बताएका थिए ।