भाेली नेपाल बन्द, ठाउँ-ठाउँबाट निक्लियाे मसाल जुलुस

सोमबार, ६ भाद्र २०७९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी सहितका चार पार्टी सम्मलित  मार्चाले नेपाल बन्दकाे घाेषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका हुन। बन्दकाे पूर्वसन्ध्यामा ठाउँ-ठाउँबाट मसाल जुलुस निकालिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेका हुन् ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

काठमाडौंकाे बागबजार, नयाँ बसपार्क, चावहिल, ललितपुरकाे लगनखेल, भक्तपुरबाट मसाल जुलुस निकालिएको छ । उपत्यका बाहिर इलाम, झापा, इटहरी, धरान, बिराटनगर, उदयपुर, खोटाङ, शंखुवासभा सिन्धुली, बनेपा, रामेछाप, दाेलखा, सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा मसाल जुलुस निकालेकाे छ ।

त्यस्तै, पश्चिमका सबै जिल्लाबाट मसाल जुलुस निकालिएको हाम्रा संवाददाताले जनाएका छन् ।